Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ट्राफिक नियम उल्लंघनमा कडा दण्ड प्रस्ताव, १ लाखसम्म जरिवाना गर्ने नयाँ व्यवस्था तयारीमा

ट्राफिक नियम उल्लंघनमा कडा दण्ड प्रस्ताव, १ लाखसम्म जरिवाना गर्ने नयाँ व्यवस्था तयारीमा

काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्ने चालकका लागि अब जरिवाना निकै कडा हुने भएको छ। सरकारले सवारी नियम मिच्नेहरूलाई न्यूनतम ५ सयदेखि अधिकतम १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था सहित नयाँ कानुनको तयारी गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘यातायात सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को मस्यौदामा मापसे, लेन अनुशासन उल्लंघनदेखि अपारदर्शी सिसा प्रयोगसम्मका गतिविधिमा कडा कारबाही प्रस्ताव गरिएको छ।

प्रस्तावित व्यवस्थाअनुसार पैदलयात्रीले समेत तोकिएको स्थान बाहेकबाट बाटो काटेमा ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। त्यस्तै, सवारी साधनमा अपारदर्शी सिसा प्रयोग गर्ने वा दृश्य अवरोध गर्ने गरी वस्तु राख्ने चालकलाई १ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ।

मादक पदार्थ सेवन गरी सवारी चलाएमा सवारीको प्रकारअनुसार २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ। गति सीमा उल्लंघन, लेन अनुशासन नमान्ने, मोबाइल फोन प्रयोग गर्ने तथा फुटपाथमा सवारी चलाउनेजस्ता गल्तीमा पनि ३ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था छ।

सार्वजनिक यातायातमा क्षमता भन्दा बढी यात्रु बोक्ने, प्रदूषण प्रमाणपत्र नलिने, वा सवारी अवस्था बिग्रिएको अवस्थामा चलाउनेलाई पनि छुट्टाछुट्टै जरिवाना तोकिएको छ।

नयाँ विधेयकमा ट्राफिक जरिवाना डिजिटल माध्यमबाट मात्र तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। जरिवाना नतिरेमा लाइसेन्स, ब्लुबुक वा इजाजतपत्र जफत गर्न सकिने र भुक्तानीपछि मात्र फिर्ता दिने व्यवस्था पनि उल्लेख छ।

पटक–पटक नियम उल्लंघन गर्ने चालकलाई थप दण्ड लाग्नेछ भने यातायात निरीक्षकलाई जुनसुकै समयमा जाँच गर्ने अधिकार दिइने प्रस्ताव गरिएको छ।