Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको तयारी, ५४ अस्थायी उद्धार वेस सञ्चालनमा

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको तयारी, ५४ अस्थायी उद्धार वेस सञ्चालनमा

काठमाडौँ । मनसुनजन्य विपद्को जोखिम बढ्दै जाँदा सशस्त्र प्रहरी बलले देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेस स्थापना गर्दै उद्धार तथा राहत तयारीलाई तीव्र बनाएको छ।

विपद् प्रभावित क्षेत्रमा छिटो उद्धार टोली परिचालन गर्न कोशीमा ६, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ र सुदूरपश्चिममा ८ अस्थायी वेस सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसका अतिरिक्त धनकुटादेखि कैलालीसम्म १६ स्थानमा स्थायी विपद् व्यवस्थापन वेसमार्फत जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको छ। सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार मनसुनजन्य विपद् प्रतिकार्यका लागि ८ हजार १८० जना सुरक्षाकर्मी २४सै घण्टा तयारी अवस्थामा छन्।

बाढी तथा डुबान प्रभावित क्षेत्रमा उद्धारका लागि ८२ र्‍याफ्ट बोट, ५३ मोटर बोट, ४ हजार ७१० दक्ष सुरक्षाकर्मी र १३४ प्रशिक्षित गोताखोरलाई ११ जोखिमयुक्त स्थानमा परिचालनका लागि तयारी अवस्थामा राखिएको छ।

सशस्त्र प्रहरीले विपद् सम्बन्धी सूचना तत्काल प्राप्त गर्न एक लाख ६८ हजार ९५६ सदस्यीय विपद् सूचक सञ्जाल समेत निर्माण गरेको छ। साथै ‘एपीएफ–कम्युनिटी अलर्ट सिस्टम’ सञ्चालनमा ल्याएर विपद्को सूचना प्राप्त हुनासाथ उद्धार टोली परिचालन गर्ने व्यवस्था गरिएको जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनबाट देशभर करिब २ लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरेको छ।