Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोसीमा २ अर्बभन्दा बढी लगानी स्वीकृत, चार ठूला आयोजना अघि बढ्ने

कोसीमा २ अर्बभन्दा बढी लगानी स्वीकृत, चार ठूला आयोजना अघि बढ्ने

काठमाडौँ । कोसी प्रदेशमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत २ अर्ब ८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको लगानी भित्रिने भएको छ। कोसी प्रदेश लगानी प्राधिकरणको ३३औँ बैठकले चारवटा रणनीतिक आयोजनाका लागि लगानी स्वीकृत गर्दै कार्यान्वयन प्रक्रिया तीव्र बनाउने निर्णय गरेको हो।

स्वीकृत आयोजनामध्ये दुहबीमा फोहोरमैला व्यवस्थापनका लागि ५५ करोड ९५ लाख रुपैयाँ, मल्टि चेम्बर कोल्ड स्टोरेज तथा एग्रो प्रोसेसिङ सेन्टरका लागि ३४ करोड रुपैयाँ, बेलकामा फोहोरमैला व्यवस्थापनसहित मल कारखाना तथा पशुपालनका लागि २० करोड रुपैयाँ र रामधुनी ताल क्षेत्रको पूर्वाधार विकासका लागि ९८ करोड ५८ लाख रुपैयाँ लगानी हुने छ।

प्राधिकरणका अनुसार चारवटै आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

बैठकले रानी–विराटनगर बसपार्क खण्डमा प्रस्तावित ‘पोडवे’ परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि पनि अनुमति दिएको छ। करिब ४ करोड ५१ लाख अमेरिकी डलर लागत अनुमान गरिएको उक्त परियोजना नेपालमै पहिलो हुने दाबी गरिएको छ।

यसैबीच ग्रीन हाइड्रोजन, बायोइथानोल, लिम्बुढुङ्गा केबलकार र राजारानी पर्यटन परियोजनालगायतका योजनाहरू पनि विभिन्न चरणमा रहेको प्राधिकरणले जनाएको छ।