काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएपछि आजै पदाधिकारी चयन प्रक्रिया अघि बढ्ने भएको छ। पार्टीले अपराह्न ४ बजेदेखि पदाधिकारी पदका लागि मतदान सुरु गर्ने तयारी गरेको जनाएको छ।
पार्टी प्रवक्ता मनिष झाले केन्द्रीय सदस्यको नतिजा आएलगत्तै पदाधिकारी निर्वाचन सञ्चालन गरिने जानकारी दिए। विधानअनुसार पदाधिकारी पदमा उम्मेदवारी दिन केन्द्रीय सदस्यमा निर्वाचित भएको हुनुपर्ने भएकाले नतिजापछि मात्रै निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो।
रास्वपाको विधानमा १९ पदाधिकारी रहने व्यवस्था छ। तीमध्ये केही पद निर्वाचनमार्फत छनोट गरिनेछन् भने बाँकी पदाधिकारी सभापतिले मनोनयन गर्ने प्रावधान रहेको छ।