Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

'रवि लामिछानेको सपना साकार पार्न उम्मेदवारी दिएको हुँ' : यज्ञमणि न्यौपाने :

'रवि लामिछानेको सपना साकार पार्न उम्मेदवारी दिएको हुँ' : यज्ञमणि न्यौपाने :

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले पार्टी सभापति रवि लामिछानेमाथि राज्यबाट अन्याय र प्रतिशोधपूर्ण व्यवहार भएको दाबी गर्दै उनको सपना साकार पार्न आफू नेतृत्वमा आउन चाहेको बताएका छन्।

बुधबार महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले न्यायाधीश बन्ने आफ्नो चाहना भए पनि समय र परिस्थितिले राजनीतिमा ल्याएको बताए। उनले पुराना दलका कमजोरी सुधार्दै देशलाई नयाँ दिशा दिनुपर्ने जिम्मेवारी रास्वपामाथि आएको उल्लेख गरे।

न्यौपानेले रवि लामिछानेमाथि अन्याय हुँदा आफूले इजलासदेखि मिडियासम्म आवाज उठाएको स्मरण गर्दै अब पार्टीको विचार र उद्देश्यलाई संस्थागत गर्न सक्षम नेतृत्व आवश्यक रहेको बताए।

उनले समृद्ध नेपाल निर्माण गर्ने रवि लामिछानेको लक्ष्य एक व्यक्तिले मात्र पूरा गर्न नसक्ने भन्दै सामूहिक नेतृत्व र संस्थागत संरचनाको आवश्यकता औंल्याए। पार्टीको आधार, विचार र ऊर्जा नै रवि लामिछाने रहेको उल्लेख गर्दै उनले पार्टीलाई एकताबद्ध राख्न आफ्नो उम्मेदवारी रहेको बताए।

महाधिवेशनको निर्वाचन प्रतिस्पर्धात्मक भए पनि गुट–उपगुटभन्दा माथि उठेर योग्य, सक्षम र इमान्दार नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिए। साथै, महाधिवेशन लम्बिँदा प्रतिनिधिहरूलाई समस्या भएको स्वीकार गर्दै प्रक्रिया छिट्टै टुंग्याउन निर्वाचन टोलीसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए।