Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आठबिसकोट नगरपालिकामा ३६ स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

आठबिसकोट नगरपालिकामा ३६ स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

काठमाडौँ । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा कार्यरत ३६ जना करार स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन्। सेवा–सुविधा र श्रम अधिकारसम्बन्धी माग पूरा नभएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन्।

बुधबार नगरपालिकामा सामूहिक रूपमा राजीनामापत्र बुझाउँदै स्वास्थ्यकर्मीहरूले पटक–पटक ज्ञापनपत्र दिए पनि समस्या समाधान नभएको र अपमानजनक व्यवहार भोग्नुपरेको गुनासो गरेका छन्।

स्वास्थ्यकर्मीका अनुसार असार २ गते पाँचबुँदे मागसहित ज्ञापनपत्र बुझाइएको थियो। तर माग सम्बोधन नभएपछि पहिले नै घोषणा गरेअनुसार सामूहिक राजीनामा दिन बाध्य भएको उनीहरूको भनाइ छ।

उनीहरूले तलब स्केल तथा प्रोत्साहन भत्ता लागू गर्नुपर्ने, अतिरिक्त कामको भुक्तानी सुनिश्चित गर्नुपर्ने, जोखिम भत्ता र नाइट भत्ता उपलब्ध गराउनुपर्ने तथा करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने माग राखेका थिए।

नगरपालिकाले भने यसबारे हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।