काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया अझै २ देखि ३ घण्टापछि मात्र सुरु हुने भएको छ।
रास्वपा नेता कविन्द्र बुर्लाकोटीका अनुसार निर्वाचन आयोगले हाल दाबी–विरोधमाथि काम गरिरहेको छ। उम्मेदवारको अन्तिम सूची तयार गरी मतदान मेसिनमा विवरण प्रविष्ट गर्न समय लागेकाले मतदान ढिलिएको उनले बताए।
उनका अनुसार केन्द्रीय सदस्य पदका लागि ३७० भन्दा बढी उम्मेदवारी परेका छन्। केही उम्मेदवारी दोहोरिएकाले त्यसलाई मिलाउने काम भइरहेको छ।
दाबी–विरोध प्रक्रिया सकिएपछि उम्मेदवारको विवरण ८० भन्दा बढी विद्युतीय मतदान मेसिनमा लोड गरिनेछ। त्यसपछि मतदान सुरु हुने अनुमान गरिएको छ।
महाधिवेशनस्थलमा पाससम्बन्धी लगायत केही प्राविधिक समस्या देखिएपछि तीनवटा सहायता डेस्कमार्फत समाधानको प्रयास भइरहेको बुर्लाकोटीले जानकारी दिए।