Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५.६९ लाखभन्दा बढी पन्छी नष्ट

उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५.६९ लाखभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लुको संक्रमण फैलिएको छ। पशु सेवा विभाग का अनुसार पछिल्लो तीन महिनामा देशका ८२ स्थानमा संक्रमण पुष्टि भएको छ।

चैत ४ गते मोरङ बाट सुरु भएको संक्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक सम्म फैलिएको विभागले जनाएको छ।

संक्रमण नियन्त्रणका क्रममा हालसम्म ५ लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएको छ भने ९ लाख ८९ हजारभन्दा बढी अण्डा र करिब १ लाख ९५ हजार केजी दाना सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।

विभागका महानिर्देशक उमेश दाहाल का अनुसार झापा, मोरङ, सुनसरी, बारा, महोत्तरी, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकका केही क्षेत्रमा भने संक्रमण बढ्दो क्रममा रहेको बताइएको छ।

संक्रमणको स्वरूप अध्ययन गर्न भाइरसको ‘सिक्वेन्सिङ’ प्रक्रिया सुरु गरिएको छ। विभागले किसानलाई जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, पन्छी ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र लिन र अस्वाभाविक रूपमा पन्छी बिरामी वा मरेमा तत्काल सम्बन्धित कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।