काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति सत्तारुढ दल नेकपा एमालेले गम्भीर असन्तुष्टि जनाएको छ। बजेट यथास्थितिमा पारित गर्न नसकिने अडान लिएको एमालेले संशोधनबिनै अघि बढाइए सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको निर्णय गरेको छ।
एमाले प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले बजेट एकपक्षीय रहेको र सत्तारुढ साझेदार दललाई समेत बेवास्ता गरिएको निष्कर्ष निकालेको हो। पार्टीले बजेटमा आवश्यक संशोधन अपरिहार्य रहेको जनाएको छ।
धनगढीस्थित प्रदेश कार्यालयमा सम्पन्न बैठकमा प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज दामोदर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो।