Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रतिनिधिको नाम मै विवाद भएपछि बन्दसत्र आज नहुने

प्रतिनिधिको नाम मै विवाद भएपछि बन्दसत्र आज नहुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार बिहान साढे ८ बजे सुरु हुने तय भएको बन्दसत्र ८ घण्टाभन्दा बढी ढिलाइ हुँदा महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित बनेको छ।

बन्दसत्रमा संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन, विधान अनुमोदन र नेतृत्व चयन प्रक्रियासम्बन्धी महत्त्वपूर्ण एजेन्डामाथि छलफल गर्ने तयारी भए पनि प्रतिनिधिको अन्तिम सूची टुंगो नलाग्दा कार्यक्रम सुरु हुन सकेन।

ढिलाइको मुख्य कारण प्रतिनिधि संख्या र नामावलीसम्बन्धी विवाद रहेको बताइएको छ। सुरुमा करिब ३ हजार प्रतिनिधि रहने अनुमान गरिए पनि संख्या बढेर ४ हजार ५०० हाराहारी पुग्ने देखिएको छ। मधेश प्रदेशका प्रतिनिधिको सूचीलाई लिएर समेत विवाद देखिएको छ भने नाम, थर र ठेगानामा रहेका त्रुटि सच्याउने काम अन्तिम समयसम्म जारी रहेको छ।

निर्धारित समयमा बन्दसत्र सुरु हुन नसकेपछि प्रतिनिधिहरू सभास्थल वरपर प्रतीक्षारत छन्। चर्को गर्मीका कारण कतिपय प्रतिनिधि हलभित्रै विश्राम गरिरहेका छन् भने केहीले नेतृत्वलाई प्रक्रिया छिटो अगाडि बढाउन आग्रह गरेका छन्।

बन्दसत्र ढिलाइ हुँदा उम्मेदवार मनोनयन दर्ता, निर्वाचन प्रक्रिया तथा नयाँ नेतृत्व चयनका सबै आगामी कार्यक्रम प्रभावित बनेका छन्। यससँगै मंगलबारभित्र महाधिवेशन सम्पन्न गर्ने योजना कठिन बन्दै गएको छ भने महाधिवेशनको अवधि थप एक दिन लम्बिन सक्ने सम्भावना बढेको छ।