काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, संरक्षण तथा पूर्वाधार विकासका विषयमा विस्तृत छलफल गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनका लागि चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तु व्यवस्थापन र वैज्ञानिक अनुसन्धानलाई सुदृढ बनाउन आवश्यक कदमबारे सरोकारवालासँग जानकारी लिएकी हुन्।
उनले चितवनको देवनगरमा प्रस्तावित करिब ५० हेक्टर क्षेत्रफलमा बन्ने ‘टाइगर सेन्चुरी’ स्थलको स्थलगत निरीक्षण गर्दै घाइते तथा समस्याग्रस्त बाघहरूका लागि प्राकृतिक वातावरण उपलब्ध गराउने योजनाले पर्या–पर्यटनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
त्यसैगरी खोरसोरस्थित हात्ती प्रजनन केन्द्रको अवलोकन गर्दै उनले माउ तथा छावाको स्वास्थ्य, आहारा व्यवस्थापन र सञ्चालन चुनौतीबारे जानकारी लिएकी छन्। ३३ वर्षमा ६८ वटा हात्तीका छावा उत्पादन गरेको उक्त केन्द्रको व्यवस्थापन सुधारमा पनि उनले जोड दिइन्।
मन्त्री चौधरीले घडियाल प्रजनन केन्द्र, टिकौलीस्थित पञ्चकन्या सामुदायिक वन क्षेत्र र सशस्त्र वन रक्षक तालिम केन्द्रको समेत निरीक्षण गर्दै वन्यजन्तु संरक्षण, अपराध नियन्त्रण र तालिम प्रणाली आधुनिकीकरण गर्न निर्देशन दिइन्।
यसै क्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको वन्यजन्तु जेनोमिक ल्याबको अवलोकन गर्दै उनले वैज्ञानिक अनुसन्धानमा आधारित संरक्षण नीतिले दीर्घकालीन प्रभाव पार्ने बताइन्।
भ्रमणका क्रममा उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि राहत, उद्धार र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने सरकारको प्रतिबद्धता दोहोर्याइन्।