काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले देशभरका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी गरेको छ।
बोर्डका अनुसार असार ८ गतेको निर्णयअनुसार कुल २३ अर्ब ३३ करोड ६४ लाख रुपैयाँभन्दा बढी रकम दाबी भुक्तानी तथा पेश्की फर्छ्यौटका रूपमा सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाइएको हो। अर्थ मन्त्रालयबाट असार ४ गते बजेट निकासा भएपछि भुक्तानी प्रक्रिया अघि बढाइएको बोर्डले जनाएको छ।
आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का गरी २७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी दाबी रकम रुजु गरिएकोमा अघिल्लो वर्षको ४ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी पेश्की रकम समायोजन गरी फर्छ्यौट गरिएको छ। साथै, स्वीकृत दाबी रकमको २ प्रतिशत कट्टा गरी बाँकी रकम स्वास्थ्य संस्थाहरूलाई उपलब्ध गराइएको बोर्डले जनाएको छ।
भुक्तानी प्राप्त गर्ने संस्थामध्ये भरतपुर अस्पतालले सबैभन्दा बढी ७ करोड ११ लाख रुपैयाँ पाएको छ। त्यसपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र बाकुलहर रत्ननगर अस्पताल रहेका छन्।
बोर्डका अनुसार यस भुक्तानीसँगै गत आर्थिक वर्षका सबै स्वीकृत दाबी तथा चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्मका स्वीकृत दाबी रकमको भुक्तानी सम्पन्न भएको छ। यसले स्वास्थ्य संस्थाहरूको आर्थिक व्यवस्थापन सहज बनाउन तथा बीमित नागरिकलाई सेवा प्रवाह थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।