Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमेरिका–इरान ‘स्विट्जरल्यान्ड वार्ता’ असफल

अमेरिका–इरान ‘स्विट्जरल्यान्ड वार्ता’ असफल

 
काठमाडौँ । आइतबार स्विट्जरल्यान्डमा इरान र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिहरूले लगभग ८० मिनेट वार्ता गरेका छन्। दुई देशले ६० दिनको युद्धविरामलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने प्रयास गरिरहेका छन्, तर पहिलो बैठकमै मतभेद देखिएको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार आफ्नो देशले इजरायल र हेज्बुल्लाहबिच जारी द्वन्द्व पूर्ण रूपमा समाधान भएपछि मात्र थप वार्ता सम्भव हुने बताएको छ।

दुई पक्षबिच अर्को वार्ता कहिले हुने भन्ने कुरा अहिले स्पष्ट छैन। पाकिस्तान र कतारका अधिकारीहरूले वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए। 

बीबीसीले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, ‘वार्ता तीन प्रमुख मुद्दामा अड्किएको छ: होर्मुज स्ट्रेट पूर्ण रूपमा खोल्ने सम्बन्धमा इरानको फरक-फरक भनाइलाई स्पष्ट पार्ने, दक्षिणी लेबनानमा युद्धविराम लागु गर्ने र आणविक सम्झौतासँग सम्बन्धित मामिला।’

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा हेज्बुल्लाहलाई रोकिएन भने अमेरिकाले फेरि आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। इरानले यसमा जवाफ दिँदै कुनै पनि युद्धका लागि तयार रहेको बताएको छ।

हालै अमेरिका र इरानबिच भएको १४ बुँदे शान्ति सम्झौतामा लेबनानसहित सबै मोर्चामा युद्ध रोक्ने उल्लेख गरिए पनि इजरायलले लेबनानमा हमला जारी राखेको छ।