काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले देशको नेतृत्व रास्वपाको हातमा आएको भन्दै अब परिणाम दिने जिम्मेवारी सरकारको रहेको बताएका छन्।
चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह सँग चुनावअघि नै सरकार सञ्चालनबारे समझदारी भएको उल्लेख गरे। फुटबलको उदाहरण दिँदै उनले, “बल बालेनको खुट्टामा पुर्याइसकेका छौँ, अब गोल हान्ने जिम्मा उहाँकै हो,” भने।
लामिछानेले झुक्किएर बल आफ्नो खुट्टामा आए पनि पुनः प्रधानमन्त्रीकै खुट्टामा पास गर्ने भन्दै सरकार र पार्टीबीचको सहकार्यलाई जोड दिए। उनको उक्त अभिव्यक्तिपछि कार्यक्रमस्थलमा उपस्थित कार्यकर्ताहरूले ताली बजाएर स्वागत गरेका थिए।
सम्बोधनका क्रममा उनले आफूहरूविरुद्ध फैलाइने अफवाहको जवाफ दिन नभई इतिहासप्रति उत्तरदायी बन्न उभिएको बताए। भविष्यका पुस्ताले यो अवसर किन गुमाइयो भनेर प्रश्न गर्न नपरोस् भन्ने उद्देश्यसहित रास्वपा अघि बढिरहेको उनको भनाइ थियो।
लामिछानेले शक्तिशाली हुनुको अर्थ दम्भ वा प्रतिशोध नभएको स्पष्ट पार्दै लोकतन्त्र, संविधान, मानवअधिकार र नागरिक स्वतन्त्रताको संरक्षणमा रास्वपा प्रतिबद्ध रहेको बताए। उनले देश सुरक्षित रहेको दाबी गर्दै नागरिकको विश्वासलाई परिणाममा रूपान्तरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।