काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्ले आज हेटौँडा आउने भएपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौँडाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सहभागी हुन उहाँ हेटौँडा आउन लाग्नुभएको हो।
भ्रमणलाई लक्षित गर्दै जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायले कार्यक्रमस्थल र आसपासका क्षेत्रमा निगरानी बढाएका छन्।
नवनिर्मित भवन सञ्चालनमा आएपछि बैंकिङ सेवा अझ व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बन्ने अपेक्षा गरिएको छ। कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, बैंकका पदाधिकारी, उद्योगी–व्यवसायी तथा सर्वसाधारणको सहभागिता रहने जनाइएको छ।
अर्थमन्त्रीको उपस्थितिमा हुने यो कार्यक्रमलाई हेटौँडाको आर्थिक तथा बैंकिङ क्षेत्रका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।