Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौं महानगरमा घरबहाल करमा कटौती, समयमै कर तिर्नेलाई १० प्रतिशत छुट

काठमाडौं महानगरमा घरबहाल करमा कटौती, समयमै कर तिर्नेलाई १० प्रतिशत छुट

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि काठमाडौं महानगरपालिकाले नयाँ कर नीति र बजेट सार्वजनिक गरेको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले नगरसभामा प्रस्तुत गरेको बजेटमा करको दर घटाएर करदातालाई प्रोत्साहित गर्ने र दायरा विस्तार गर्ने रणनीति लिएको हो ।

महानगरले आवासीय प्रयोजनका लागि घरजग्गा बहालमा दिने नगरवासीहरूलाई सहुलियत दिएको छ । वार्षिक २ लाख ४० हजार रुपैयाँभन्दा बढी बहाल आम्दानी हुनेहरूको हकमा साविकको १० प्रतिशत कर घटाएर ७ प्रतिशत कायम गरिएको छ । यस्तै, वार्षिक २ लाख ४० हजार रुपैयाँभन्दा कम बहाल आम्दानी हुनेहरूको हकमा ५ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ ।

महानगरले कर संकलनलाई प्रभावकारी बनाउन 'अर्ली बर्ड' योजना ल्याएको छ । जसअनुसार आगामी असोज मसान्तभित्र आफ्नो कर बुझाउने करदाताले कुल कर रकममा १० प्रतिशत छुट पाउनेछन् ।

लामो समयदेखि कर नतिरेका करदाताहरूका लागि पनि बजेटले ठूलो अवसर दिएको छ; असोज मसान्तभित्र पुराना सबै बक्यौता कर चुक्ता गरेमा लाग्ने जरिवाना पूर्ण रूपमा मिनाहा गरिनेछ ।

करदातालाई निःशुल्क स्वास्थ्य सेवा

महानगरले कर बुझाउने करदाताहरूले महानगरका सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरूमा निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् । यसका साथै, कर प्रशासनलाई आधुनिक बनाउन 'एकीकृत करदाता परिचय पत्र' वितरण गरिने र घरजग्गा बहाल दर्ता प्रक्रियालाई सरल बनाइने बजेटमा उल्लेख छ ।

सेवा शुल्कमा कटौती

महानगरले केही शीर्षकका सिफारिस दस्तुरहरूलाई पूर्ण रूपमा निःशुल्क गर्ने घोषणा गरेको छ । व्यवसायीहरूलाई करको दायरामा ल्याउन कर्मचारीहरू व्यवसायस्थलमै पुगेर समन्वय र सहजीकरण गर्ने नीति लिइएको छ । नयाँ करदाता पहिचान गर्न र कर विश्लेषणका लागि विज्ञहरूको सहयोग लिँदै वस्तुगत संघहरूसँग सहकार्य गरिने कार्यवाहक प्रमुख डंगोलले बताइन् ।

महानगरले आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत व्यवस्थापन गर्ने लक्ष्य राखेको छ, जसको सफल कार्यान्वयनका लागि यी कर सुधारका कार्यक्रमहरूलाई मेरुदण्ड मानिएको छ ।

समग्रमा आर्थिक वर्ष २०८३/८४ का लागि काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ प्रस्ताव गरेको छ । बिहीबार राष्ट्रिय सभागृहमा सम्पन्न नगर सभामा डंगोलले, सञ्चित कोषमा व्ययभार पर्ने २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ र बाह्य व्यय भार हुने ७५ करोड रुपैयाँ गरी २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बजेट प्रस्ताव गरिन् ।