काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूतावासका कार्यवाहक राजदूत स्कट अर्बोमले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा उनले मन्त्रीलाई नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
छलफलमा नेपाल सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो। यसले अमेरिकी कम्पनीहरूलाई नेपालमा लगानी गर्न थप उत्साहित बनाउने राजदूत अर्बोमको भनाइ थियो।
मन्त्रीले नेपाल र अमेरिकाबीच पारस्परिक कानुनी सहायता सम्बन्धी विषयमा आवश्यक गृहकार्य भइसकेकाले अब त्यसलाई निष्कर्षमा पुर्याउन पहल गर्नुपर्ने बताए। साथै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लगानी प्रवर्द्धन र पूर्वाधार विकाससँग सम्बन्धित कानुन निर्माणका विषयमा पनि छलफल भएको थियो।
भेटका क्रममा मन्त्रीले न्यायमा सहज पहुँच सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहका कानुनहरूलाई एउटै डिजिटल प्लेटफर्ममा उपलब्ध गराउने काम भइरहेको जानकारी दिए। उनले एकीकृत कानुनी सहायता तथा संक्रमणकालीन न्यायका क्षेत्रमा अमेरिकी सरकारसँग सहकार्य गर्न नेपाल खुला रहेको सन्देशसमेत दिएका छन्।