Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हुवावे प्रतिनिधिमण्डल र सञ्चारमन्त्री डा. तिमिल्सिनाबीच भेट, डिजिटल पूर्वाधारमा सहकार्यको प्रस्ताव

हुवावे प्रतिनिधिमण्डल र सञ्चारमन्त्री डा. तिमिल्सिनाबीच भेट, डिजिटल पूर्वाधारमा सहकार्यको प्रस्ताव

 

काठमाडौँ । चिनियाँ कम्पनी हुवावेका एसिया–प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ।

मन्त्रालयमा भएको भेटमा हुवावे पक्षले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा प्रवेश गरिरहेको उल्लेख गर्दै आवश्यक प्रविधि, अनुभव र स्रोतसाधनमार्फत सहकार्य गर्न सकिने प्रस्ताव गरेको छ। कम्पनीले डिजिटल नेपालको अभियानलाई प्रभावकारी बनाउन दूरसञ्चार पूर्वाधार, एआई, क्लाउड कम्प्युटिङ, आधुनिक डेटा सेन्टर तथा स्वच्छ ऊर्जा प्रविधि जस्ता क्षेत्रमा सहकार्य गर्न तयार रहेको जनाएको छ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले दूरसञ्चार क्षेत्रको सुधार सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै देशभर गुणस्तरीय र भरपर्दो सेवा विस्तार गरिने बताए। उनले हुवावेले नेपालमा लामो समयदेखि काम गर्दै आएको सन्दर्भमा सेवा गुणस्तर र कार्यसम्पादनप्रति कुनै प्रश्न उठ्ने अवस्था आउन नहुने बताए।

मन्त्री तिमिल्सिनाले काममा पारदर्शिता, जिम्मेवारी र सेवा प्रवाहमा गुणस्तर सुनिश्चित गर्न आग्रह गर्दै देखिएका समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिए। नेपाल टेलिकममा हुवावेको प्राविधिक सहयोग रहेको उल्लेख गर्दै उनले उपभोक्ताका गुनासो समाधानका लागि टेलिकम र हुवावेबीच समन्वय आवश्यक रहेको बताए।

उनले सबै व्यावसायिक गतिविधि स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै बिचौलिया प्रणालीलाई स्थान नदिई नागरिकको हितलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे।