काठमाडौँ । पासपोर्ट खरिदसम्बन्धी प्रकरणमा बयानका लागि उपस्थित हुन म्याद तामेल भएपछि पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई इमेल पठाएकी छन्।
अख्तियार स्रोतका अनुसार बुधबार आयोगको आधिकारिक इमेलमा आएको पत्रमा आफू उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने उल्लेख गरिएको छ। इमेलमा अनुसन्धानमा सहयोग गर्न तयार रहेको पनि जनाइएको छ।
अख्तियारले अनुसन्धान अघि बढाउँदै बुढानिलकण्ठस्थित उनको निवासमा म्याद तामेल गरेको थियो। जसअनुसार बाटोको म्याद बाहेक तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ।
यसैबीच, अनुसन्धानका क्रममा गत वर्षको ई–पासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणाको कुनै लिखित निर्देशन वा औपचारिक निर्णय नदेखिएको दाबी स्रोतले गरेको छ। तर ठेक्का डिजाइन, प्याकेज तयारी तथा ठेकेदारबीच समन्वयमा संलग्नता रहेको भन्दै उजुरीहरू परेको जनाइएको छ।
अख्तियार स्रोतका अनुसार ठेक्का प्रक्रिया अघि बढ्नुअघि सम्बन्धित व्यक्तिहरूबीच विभिन्न भेटघाट भएको सूचनासमेत अनुसन्धान टोलीले प्राप्त गरेको छ। टेन्डर मूल्यांकन प्रक्रियामा प्राविधिक मापदण्ड मिचिएको दाबी पनि उजुरीमा उल्लेख गरिएको छ।