Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सभामुख डोल प्रसाद अर्याल र युएई राजदूतबीच द्विपक्षीय सम्बन्ध सुदृढीकरणबारे छलफल

सभामुख डोल प्रसाद अर्याल र युएई राजदूतबीच द्विपक्षीय सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाका सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत महामहिम अब्दुल्ला जरवान अल शम्सीबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको हो।

छलफलका क्रममा संसदीय सहकार्य, व्यापार, लगानी, पर्यटन, श्रम, हवाई सेवा, प्रविधि तथा कृत्रिम बौद्धिकता लगायतका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा विचार आदान–प्रदान गरिएको थियो।

सभामुख अर्यालले युएई नेपालका लागि महत्वपूर्ण साझेदार राष्ट्र भएको उल्लेख गर्दै आर्थिक तथा विकास साझेदारी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले नेपाली नागरिकका लागि युएई भिसा प्रक्रियामा अनिवार्य गरिँदै आएको प्रहरी प्रतिवेदनसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न आग्रह गरे।

उनले हालै सार्वजनिक गरिएको शासकीय सुधारका १०० कार्यसूचीमार्फत सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र डिजिटल बनाउने प्रयास भइरहेको जानकारी दिए। साथै, युएईको भिजन २०३१ सँग तालमेल हुने गरी लगानी, पूर्वाधार, ऊर्जा र प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्न पनि आग्रह गरे।

पोखरा–दुबई सिधा दैनिक उडान सञ्चालनको स्वीकृतिप्रति खुशी व्यक्त गर्दै उनले यसले नेपाललाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भैरहवा–दुबई उडान पुनः सञ्चालनको सम्भावना पनि अध्ययन गर्न अनुरोध गरे।

राजदूत अल शम्सीले नेपाल–युएई सम्बन्ध मित्रतापूर्ण र बहुआयामिक रहेको उल्लेख गर्दै व्यापार, लगानी, पर्यटन, ऊर्जा र प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्न युएई सकारात्मक रहेको बताए।