Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बक्यौता नतिर्ने ६३ उद्योगको लाइन काटियो, एकै दिन १० करोड असुली

बक्यौता नतिर्ने ६३ उद्योगको लाइन काटियो, एकै दिन १० करोड असुली

काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता रकम नतिर्ने ६३ उद्योगको पानी र विद्युत् आपूर्ति बन्द गरेको छ। सरकारी जग्गा, भवन तथा पूर्वाधार प्रयोग गरे पनि लामो समयदेखि भाडा र महसुल नबुझाएका उद्योगमाथि कारबाही सुरु गरिएको लिमिटेडले जनाएको छ।

बुधबारदेखि देशभरका १० औद्योगिक क्षेत्रमा लाइन काट्ने अभियान थालिएको हो। कारबाही सुरु भएकै दिन बक्यौता रहेका उद्योगहरूबाट करिब १० करोड रुपैयाँ असुल भएको लिमिटेडले जनाएको छ।

सबैभन्दा बढी २४ उद्योग बालाजु औद्योगिक क्षेत्रमा कारबाहीमा परेका छन्। हेटौंडाका १३, पाटनका ७, पोखराका ५ तथा बुटवल र भक्तपुरका ४–४ उद्योगको पनि पानी तथा विद्युत् लाइन काटिएको छ। नेपालगञ्ज, धरान र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका केही उद्योग पनि कारबाहीको दायरामा परेका छन्।

लाइन काटिएपछि बक्यौता बुझाएका ८ उद्योगको विद्युत् आपूर्ति पुनः जडान गरिएको छ। यससँगै सुरुमा कारबाहीमा परेका ६३ उद्योगमध्ये ५५ उद्योग अझै लाइनविहीन अवस्थामा रहेका छन्।

लिमिटेडका अनुसार बक्यौता नतिर्ने अन्य उद्योगमाथिको कारबाही पनि बिहीबारदेखि निरन्तर जारी रहनेछ।