काठमाडौं । सम्माननीय सभामुख डोल प्रसाद अर्याल र नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर रहमान बीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा सभामुख अर्यालले नेपाल–बङ्गलादेश सम्बन्ध आपसी सम्मान, विश्वास र समानतामा आधारित रहेको उल्लेख गर्दै द्विपक्षीय सहकार्यलाई नेपालले उच्च प्राथमिकता दिएको बताउनुभयो। उहाँले बङ्गलादेशको आर्थिक तथा भौतिक विकासको प्रशंसा गर्दै त्यसका सकारात्मक अभ्यासहरू नेपालका लागि उपयोगी हुन सक्ने धारणा राख्नुभयो।
छलफलका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, व्यापार, पर्यटन, जलवायु परिवर्तन तथा क्षेत्रीय सहकार्यका विषयमा विचार आदानप्रदान भएको थियो। सभामुख अर्यालले खेलकुद, सांस्कृतिक आदानप्रदान र जनस्तरीय सम्पर्कले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताउनुभयो।
राजदूत रहमानले जलवायु परिवर्तन, प्राकृतिक विपद् तथा आर्थिक रूपान्तरणजस्ता साझा चुनौतीहरूको सामना गर्न नेपाल र बङ्गलादेशबीच सहकार्य तथा अनुभव आदानप्रदानलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै ऊर्जा, शिक्षा, स्वास्थ्य, व्यापार र पर्यटनलगायत क्षेत्रमा विद्यमान सहकार्य विस्तार गर्न बङ्गलादेश सकारात्मक रहेको बताउनुभयो।