काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिस प्रक्रियामा नक्कली कागजात प्रयोग भएको आशंकामा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नताबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
मन्त्रिस्तरीय निर्णयअनुसार सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा गठन गरिएको समितिमा उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्।
समितिलाई सात दिनभित्र घटनासँग सम्बन्धित कर्मचारीहरूको भूमिका, जिम्मेवारी तथा प्रक्रियागत कमजोरीबारे अनुसन्धान गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ। अध्ययन भिसा सिफारिस प्रणालीमा संलग्न कागजातको प्रमाणीकरण प्रक्रिया र सम्भावित अनियमितताबारे समेत विस्तृत अध्ययन गरिने मन्त्रालयले जनाएको छ।
वाल्मीकि विद्यापीठको नाममा पेस गरिएका सिफारिस पत्र तथा कागजात नक्कली देखिएपछि मन्त्रालयले छानबिन अघि बढाएको हो। सोही आधारमा यसअघि सिफारिस गरिएका विदेशी नागरिकहरूको भिसा प्रक्रिया रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान प्रतिवेदनका आधारमा आवश्यक प्रशासनिक तथा कानुनी कारबाही अघि बढाइने स्पष्ट गरेको छ।