Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालश्रम अन्त्यको चुनौती अझै बाँकी, नेपालमा १० लाखभन्दा बढी बालबालिका श्रममा

बालश्रम अन्त्यको चुनौती अझै बाँकी, नेपालमा १० लाखभन्दा बढी बालबालिका श्रममा

काठमाडौँ । बालबालिकाको अधिकार संरक्षण र श्रम शोषणको अन्त्य गर्ने उद्देश्यसहित आज विश्वभर विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै छ। कानुनी तथा नीतिगत प्रयासका बाबजुद नेपालमा अझै १० लाखभन्दा बढी बालबालिका विभिन्न प्रकारका श्रममा संलग्न रहेको तथ्यांकले देखाएको छ।

नेपाल श्रमशक्ति सर्वेक्षण २०१७/१८ अनुसार ५ देखि १७ वर्ष उमेर समूहका करिब १० लाख ८२ हजार बालबालिका श्रममा संलग्न छन्, जुन कुल बालबालिकाको १५.३ प्रतिशत हो। तीमध्ये करिब २ लाख २२ हजार बालबालिका जोखिमयुक्त श्रममा कार्यरत छन्।

गरिबी, अशिक्षा, बेरोजगारी र सामाजिक असमानताका कारण विशेषगरी हिमाली तथा पहाडी क्षेत्रका बालबालिका अझै श्रममा संलग्न हुन बाध्य छन्। यसले उनीहरूको शिक्षा, स्वास्थ्य र समग्र भविष्यमा प्रतिकूल असर पारिरहेको छ।

सन् २००८ मा बालश्रममा संलग्न बालबालिकाको संख्या १६ लाखभन्दा बढी रहेकोमा पछिल्ला वर्षमा केही सुधार देखिए पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन। सरकारले बालश्रम नियन्त्रणका लागि विभिन्न कानुन र कार्ययोजना लागू गरेको भए पनि प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण छ।

अन्तर्राष्ट्रिय श्रम संगठनले सन् २००२ देखि यो दिवस मनाउन थालेको हो। दिवसका अवसरमा नेपालसहित विश्वभर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै छन्। सरोकारवालाले बालबालिकालाई श्रम होइन, शिक्षा, खेलकुद र सिर्जनात्मक गतिविधिमा जोड्दै सुरक्षित र सम्मानजनक बाल्यकाल सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।