काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट मध्यम वर्गमुखी भएको भन्ने आलोचनाको प्रतिवाद गर्दै वर्तमान आर्थिक सुस्तता अन्त्य गर्न मध्यम वर्गको क्रयशक्ति, निजी क्षेत्रको विश्वास र राज्यको खर्च गर्ने क्षमता सुदृढ गर्नु आवश्यक रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले गरिब, किसान र श्रमिकका मुद्दालाई सरकारले बेवास्ता नगरेको स्पष्ट पारे।
कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्र पूर्ण रूपमा पुनरुत्थान हुन नसकेको उल्लेख गर्दै वाग्लेले कमजोर मागका कारण आर्थिक गतिविधि प्रभावित भएको बताए। उनका अनुसार अहिलेको मुख्य आवश्यकता अर्थतन्त्रमा पुनः ऊर्जा र आत्मविश्वास भर्नु हो।
निजी लगानी सुस्त रहेको र आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसकेको अवस्थामा माग बढाउने कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो। मध्यम वर्गको आर्थिक अवस्था उद्योग, व्यापार, पर्यटन र रोजगारीसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै उनले यसलाई कुनै एक वर्गलाई लक्षित सुविधा नभई समग्र अर्थतन्त्र पुनर्जीवित गर्ने रणनीतिका रूपमा बुझ्न आग्रह गरे।
अर्थमन्त्री वाग्लेले आर्थिक पुनरुत्थानका लागि मध्यम वर्गको आत्मविश्वास, निजी क्षेत्रको भरोसा र सरकारी खर्च क्षमताको पुनःस्थापना आधारभूत आवश्यकता रहेको समेत बताए।