काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ मा संघीय संसदमा पेस गरिने विधेयकहरूको सूची तयार गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मन्त्रालयस्तरीय छलफल सुरु गरेको छ।
कानुनमन्त्री सोविता गौतमले बिहीबार भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालय र महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
छलफलमा सम्बन्धित मन्त्रालयहरूले तयारी गरिरहेका विधेयकबारे जानकारी लिने, प्राथमिकता निर्धारण गर्ने तथा आवश्यक समन्वयका विषयमा कुराकानी हुने बताइएको छ।
विधायन ऐनअनुसार हरेक वर्ष असार मसान्तभित्र संघीय संसदमा पेस गरिने विधेयकहरूको प्राथमिकताक्रमसहितको सूची तयार गर्नुपर्ने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार आगामी वर्षका विधेयकको अन्तिम सूची तयार गर्न कानुन मन्त्रालयले विभिन्न मन्त्रालयसँग क्रमबद्ध छलफल अघि बढाएको हो।
मन्त्रालयले असारभित्र सबै सम्बन्धित निकायबाट प्रस्तावित विधेयकहरूको विवरण संकलन गरी संसदमा पेस गरिने वार्षिक विधायन कार्यतालिका अन्तिम रूप दिने तयारी गरेको जनाएको छ।