काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आज सकिँदै छ । आज राति १२ बजेसम्म सदस्यता अध्यावधिक गर्न सकिनेछ ।
महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज मध्यरातिसँगै अध्यावधिकको समयसीमा समाप्त हुने बताएका छन् ।
उनले छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्रै आफ्नो सदस्यता अध्यावधिक गरिसक्न अपिल गरेका छन् ।
पार्टीका अनुसार क्रियाशील सदस्यता अध्यावधिक गर्न योग्य कुल सात लाख ८२ हजार २०९ सदस्यमध्ये हिजो बेलुकासम्म चार लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता प्राप्त गरिसकेका छन् ।
त्यसबाहेक थप एक लाख २४ हजार ७४८ जनाले स्वयं अध्यावधिक फाराम पेस गरी अध्यावधिक प्रक्रियामा सहभागी भइसकेको कांग्रेसले बताएको छ ।
महामन्त्री पौडेलले समयसीमा सकिनै लाग्दा एकैपटक धेरैले फाराम भर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले अन्तिम समयसम्म प्रतीक्षा नगरी तत्कालै अध्यावधिक प्रक्रिया पूरा गर्न सबै क्रियाशील सदस्यलाई आग्रह गरेका छन् ।
कांग्रेसको वेबसाइटमार्फत हरेक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट सहज रूपमा सदस्यता अध्यावधिक गर्न सक्ने व्यवस्था गरिएको बताउँदै उनले प्रक्रिया थाहा नभए वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिएर भए पनि समयमै अध्यावधिक गर्न आग्रह गरे ।
नेपाली कांग्रेसले सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यले अनलाइन माध्यमबाट क्रियाशील सदस्यता अध्यावधिक अभियान सञ्चालन गर्दै आएको छ ।
कतिपय नेताहरूले अवरोध गर्ने प्रयास गरे पनि क्रियाशील सदस्यता अध्यावधिक अभियान गाउँगाउँसम्म उत्साहजनक रूपमा अघि बढिरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने, “विगतमा नेताहरूले अरूको नाममा आफैँ फाराम भरिदिँदा देखिने ‘फर्जी संख्या’ भन्दा अहिले कार्यकर्ता आफैँ सचेत भएर अनलाइन फाराम भर्दा संख्या केही कम देखिनु स्वाभाविक हो ।”
उनका अनुसार तोकिएको समयसीमाभित्र आफ्नो सदस्यता अनलाइन प्रणालीमा दर्ता गराउने क्रियाशील सदस्य मात्रै आगामी १५औँ महाधिवेशनमा सहभागी हुन योग्य हुनेछन् ।