काठमाडौँ। सुदूरपश्चिम प्रदेशका ९ जिल्लाअन्तर्गत २६ स्थानीय तहले आफूलाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित पालिकाले चासो नदिएको जनाएको छ।
मन्त्रालयले ती पालिकाले तत्काल मल नउठाए कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोमार्फत किसानलाई सिधै बिक्री गरिने चेतावनी दिएको छ।
तथ्यांकअनुसार डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, डोटी, अछाम, कैलाली र कञ्चनपुरका विभिन्न पालिकाले तोकिएको परिमाणको मल उठाएका छैनन्। कैलालीका गोदावरी, गौरीगंगा, जानकी र धनगढी तथा कञ्चनपुरका भीमदत्त र बेदकोट नगरपालिकामा ठूलो परिमाणको मल मौज्दातमै रहेको छ।
धान रोपाइँको मुख्य सिजन सुरु भइसके पनि मल ढुवानी र वितरणमा ढिलाइ हुँदा किसानले मल अभावको समस्या भोग्न थालेका छन्। मन्त्रालयका अनुसार स्थानीय तहको कमजोर समन्वयका कारण मल समयमै किसानसम्म पुग्न सकेको छैन।
सुदूरपश्चिमका ४३ पालिकामध्ये १७ पालिकाले मात्रै मल उठाएका छन् भने २६ पालिका अझै निष्क्रिय देखिएका छन्। कृषि उत्पादनको महत्वपूर्ण समयमा देखिएको यो ढिलाइले किसान प्रभावित हुने जोखिम बढाएको मन्त्रालयको भनाइ छ।