काठमाडौं । सरकारी निकायका वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण (एक्सेसिबिलिटी टुल) समावेश गरिएको सूचना प्रविधि विभागले जनाएको छ। यसले दृष्टिविहीन, न्यून दृष्टि भएका, रङ्ग पहिचानमा समस्या भएका तथा विशेष आवश्यकता भएका प्रयोगकर्तालाई डिजिटल सेवा प्रयोग गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ।
विभागका सूचना अधिकारी प्रकाश दवाडीका अनुसार वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल आइकन’ राखिएको छ, जसबाट प्रयोगकर्ताले आफ्ना आवश्यकताअनुसार सामग्रीको स्वरूप समायोजन गर्न सक्छन्। यसमा अक्षरको आकार परिवर्तन, रङ्ग कन्ट्रास्ट समायोजन, फन्ट परिवर्तन तथा लाइन स्पेसिङ मिलाउने सुविधा समावेश छन्।
त्यस्तै, माउस कर्सरको आकार बदल्ने, तस्बिर लुकाएर केवल टेक्स्ट पढ्ने, एनिमेसन रोक्ने र रङ्ग फिल्टर प्रयोग गर्ने जस्ता विकल्प पनि उपलब्ध छन्। किबोर्ड प्रयोगकर्ताका लागि ‘स्किप नेभिगेसन’ र स्क्रिन रिडरमैत्री संरचना समेत लागू गरिएको छ।
विभागका अनुसार यी वेबसाइटहरू अन्तर्राष्ट्रिय वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन (WCAG) अनुसार विकास गरिएका हुन्। फारामहरूमा स्पष्ट त्रुटि सन्देश, ‘अल्ट टेक्स्ट’ सहितका तस्बिर विवरण र इनपुट फिल्डमा स्पष्ट संकेत राखिएको छ, जसले अपाङ्गता भएका प्रयोगकर्तालाई सूचना पहुँचमा सहजता दिनेछ।
सरकारले गत चैतमा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत यो व्यवस्था अघि बढाइएको हो। विभागले यसअघि नै कर्मचारीलाई लक्षित गरी अपाङ्गमैत्री वेबसाइट प्रणालीसम्बन्धी तालिमसमेत सञ्चालन गरिसकेको छ।