Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

समस्या समाधान र नतिजामा केन्द्रित हुन सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको निर्देशन

समस्या समाधान र नतिजामा केन्द्रित हुन सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका निकायमा देखिएका समस्या तत्काल समाधान गर्दै नतिजामुखी ढंगले काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ।

मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडेक) बैठकमा बोल्दै उहाँले समस्या र प्रश्नबाट भाग्ने होइन, समाधान खोज्ने संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो। समस्या कहाँबाट उत्पन्न भएका हुन् र तिनको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर काम गर्न उहाँले आग्रह गर्नुभयो।

मन्त्री तिमिल्सिनाले बजेट अभावको गुनासो भइरहे पनि विनियोजित बजेटसमेत अपेक्षाअनुसार खर्च हुन नसकेको भन्दै यसको कारण पहिचान गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले कर्मचारीलाई नियमित जागिरको मानसिकताभन्दा माथि उठेर नागरिक सेवाप्रति जिम्मेवार बन्न आग्रह गर्नुभयो।

उहाँले अन्तरनिकाय समन्वयको कमीका कारण केही कार्यक्रम प्रभावित भएको बताउँदै हुलाक सेवा आधुनिकीकरण, तथ्यांक व्यवस्थापन तथा अभिलेखीकरणमा सुधार आवश्यक रहेको धारणा राख्नुभयो।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा सुदन झाले स्रोत–साधनको अभावभन्दा कर्मचारीको कार्यक्षमता मुख्य चुनौती रहेको बताउनुभयो। मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजित रु ७ अर्ब ९१ करोड ३२ लाखमध्ये वैशाख मसान्तसम्म ५०.८८ प्रतिशत बजेट खर्च भएको छ। पुँजीगततर्फ भने खर्च १२.३८ प्रतिशतमा सीमित रहेको छ।

बैठकमा बजेट खर्च, योजना कार्यान्वयनको अवस्था र देखिएका समस्याको समाधानबारे छलफल गरिएको थियो।