Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रविले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट प्रचण्ड नजाने माधव नेपाल र वर्षमान पुन जाने

रविले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट प्रचण्ड नजाने माधव नेपाल र वर्षमान पुन जाने

काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज (सोमबार) बस्ने सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन सहभागी हुने भएका छन्। 

संसद् अवरुद्धलगायत समसामयिक विषयमा अहिले बिहान ९ बजे सिंहदरबारस्थित संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा सर्वदलीय बैठक बस्दै छ। 

जसमा सहभागिताका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको छ। 

तर नेकपाका संयोजक प्रचण्ड अस्वस्थ भएकाले सर्वदलीय बैठकमा सहसंयोजक नेपाल र नेता पुन सहभागी हुने भएका हुन्। 

नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार प्रचण्ड अस्वस्थ भएकाले बैठकमा नजाने भएका हुन्। 

‘संयोजकज्यू बिरामी भएकाले अझै केही दिन रेस्टमा बस्नुहुन्छ’, दुलालले भने। 

रास्वपा सभापति लामिछाने पाँचदिन भारत भ्रमण गरेर यही जेठ २२ गते मात्र स्वदेश फर्किएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अवरुद्ध गरिरहेका छन्। 

आजै प्रतिनिधिसभाको बैठक बस्दै छ। 

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले संसद्‌मा आएर माफी माग्नु पर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरिरहेका छन्। अन्यथा संसद् बैठक चल्न नदिने अडान लिएका छन्।

राष्ट्रियसभाको बैठक जेठ २६ गतेका लागि बोलाइएको छ।