Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देशभर १० हजार चार्जिङ स्टेसन आवश्यक, २०३० सम्म इभी प्रवर्द्धनका लागि ठूलो विस्तार योजना

देशभर १० हजार चार्जिङ स्टेसन आवश्यक, २०३० सम्म इभी प्रवर्द्धनका लागि ठूलो विस्तार योजना

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयको अध्ययनले देशभर विद्युतीय सवारीसाधन (इभी) को प्रभावकारी प्रवर्द्धनका लागि कम्तीमा १० हजार चार्जिङ स्टेसन आवश्यक पर्ने देखाएको छ।

‘नेपालमा इभी प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ शीर्षकको अध्ययन प्रतिवेदन अनुसार सन् २०३० सम्म सो सङ्ख्यामा चार्जिङ स्टेसन विस्तार गर्न सकिए विद्युतीय सवारीको प्रयोग उल्लेख्य रूपमा बढ्नेछ। हाल देशभर करिब एक हजार चार्जिङ स्टेसन सञ्चालनमा छन्, जसमध्ये धेरैजसो निजी कम्पनीहरूले मुख्य सहरहरूमा सञ्चालन गरिरहेका छन्।

अध्ययनले चार्जिङ पूर्वाधार, ब्याट्री व्यवस्थापन, उच्च लागत, सीमित निजी लगानी, दक्ष जनशक्तिको अभाव तथा सडक पूर्वाधारको कमजोरीलाई प्रमुख चुनौतीका रूपमा औँल्याएको छ।

त्यसैगरी पेट्रोलियम इन्धनको आयात घटाउने, जलविद्युत् खपत बढाउने, रोजगारी सिर्जना गर्ने, प्रदूषण कम गर्ने तथा सार्वजनिक यातायातलाई आधुनिक बनाउनेलाई प्रमुख अवसरका रूपमा चित्रण गरिएको छ।

सरकारले सन् २०३० सम्म निजी सवारीसाधनमध्ये ९० प्रतिशत विद्युतीय बनाउने तथा सन् २०४५ सम्म ‘नेट शून्य कार्बन’ उत्सर्जन हासिल गर्ने लक्ष्य लिएको छ। यसका लागि देशभर चार्जिङ सञ्जाल विस्तारलाई प्राथमिक प्राथमिकतामा राखिएको छ।