काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्।
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले साहित्य सिर्जना भावनाको अभिव्यक्तिसँगै समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे।
उनका अनुसार साहित्यले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, देशप्रेम र रूपान्तरणका लागि प्रेरणा प्रदान गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा योगदान पुर्याउँछ। साहित्यले समाजलाई जोड्ने र उज्यालो भविष्यतर्फ अघि बढाउने क्षमता राख्ने उनले बताए।
राष्ट्रपतिले युगकवि सिद्धिचरण श्रेष्ठलाई केवल इतिहासका कवि मात्र नभई चेतना, साहस, सिर्जनशीलता र राष्ट्रप्रेमका प्रेरणास्रोतका रूपमा बुझ्नुपर्नेमा जोड दिए। कठिन सामाजिक तथा राजनीतिक परिस्थितिमा पनि उनले स्वतन्त्रता, न्याय र मानवताको सन्देश साहित्यमार्फत प्रवाह गरेको स्मरण गरे।
सिद्धिचरणका कवितामा जन्मभूमिप्रतिको गहिरो प्रेम र राष्ट्रिय भावनाको अभिव्यक्ति पाइने उल्लेख गर्दै राष्ट्रपति पौडेलले ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताले जन्मभूमिप्रतिको प्रेमलाई अविस्मरणीय रूपमा स्थापित गरेको बताए।
कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार डा. दुबसु क्षेत्री र डा. गार्गी शर्मालाई प्रदान गरिएको थियो।