काठमाडौं । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका बीवाईडी ब्राण्डका ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी) सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
विद्युतीय सवारीसाधनको कर संरचना परिवर्तनसम्बन्धी सूचना बजेटअघि नै चुहिएको आशंकामा नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७७४ वटा बीवाईडी ब्रान्डका ईभी सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार बुधबार राति कास्कीदेखि मुस्ताङसम्मका विभिन्न सडक खण्डमा विशेष जाँच अभियान सञ्चालन गरी ती सवारीसाधन नियन्त्रणमा लिइएको हो। उनका अनुसार अधिकांश गाडी नम्बर प्लेटविहीन अवस्थामा विभिन्न जिल्लातर्फ लैजाँदै गर्दा फेला परेका थिए।
भट्टले विद्युतीय सवारीसाधनमा लाग्ने करको दर हेरफेरसम्बन्धी सूचना बजेटअघि नै बाहिरिएको हुन सक्ने आशंकामा थप अनुसन्धान अघि बढाइएको बताए। उनले भन्सार प्रक्रिया, कर निर्धारण तथा बजेटअघिको आयात गतिविधिमा कुनै अनियमितता भएको पुष्टि भए सम्बन्धित व्यक्ति वा निकायमाथि कानुनी कारबाही गरिने स्पष्ट पारे।
प्राप्त जानकारीअनुसार आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नै भन्सार जाँचपास प्रक्रिया पूरा गरी ठूलो संख्यामा ईभी भित्र्याइएको विषयलाई लिएर सरकारी निकायहरू सक्रिय बनेका हुन्। यस घटनामा भन्सार कर्मचारी, एजेन्ट र व्यापारीबीच सम्भावित मिलेमतो भएको आशंकासमेत गरिएको छ।
यस विषयमा प्रतिक्रिया लिन बीवाईडीका नेपालस्थित आधिकारिक विक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठसँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनको मोबाइल फोन बन्द रहेको जनाइएको छ।
सरकारले हालै सार्वजनिक गरेको बजेटमार्फत विद्युतीय सवारीसाधनसम्बन्धी कर संरचनामा परिवर्तन गरेको छ। सोही परिवर्तनबाट लाभ लिन बजेटअघि ठूलो परिमाणमा सवारीसाधन आयात गरिएको हुन सक्ने आशंकामा अनुसन्धान अगाडि बढाइएको स्रोतले जनाएको छ।