काठमाडौं । प्रतिनिधिसभाका सभामुख डिपी अर्यालले जातीय भेदभाव तथा छुवाछूतको पूर्ण अन्त्यका लागि संघीय संसद प्रतिबद्ध रहेको बताएका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले दलित समुदायले शताब्दीयौंदेखि भोग्दै आएको विभेद, बहिष्करण र अवसरबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्न राज्यका सबै निकाय एकजुट हुनुपर्ने बताएका हुन्।
सभामुख डिपी अर्यालले संविधानको धारा ४० ले दलित समुदायका हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै ती व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नु अहिलेको प्रमुख चुनौती रहेको बताए। उनले सामाजिक चेतना, कानुनी कार्यान्वयन र आर्थिक सशक्तीकरणलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए।
उनले सार्वजनिक स्थल, शैक्षिक संस्था, स्वास्थ्य सेवा र रोजगारीका क्षेत्रमा अझै पनि जातीय विभेदका घटना देखिइरहेको उल्लेख गर्दै यस्ता विकृतिविरुद्ध राज्य, राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र र आम नागरिकको साझा प्रयास आवश्यक रहेको बताए।
सभामुखले दलित समुदायको सम्मान, समान अवसर र न्याय सुनिश्चित गर्न संसदले आवश्यक कानुनी तथा नीतिगत पहललाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै समतामूलक र छुवाछूतमुक्त समाज निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरेका छन्।