काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल–भारत सम्बन्धबारे गम्भीर र सतर्क रहन सुझाव दिएका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत लामिछानेको भारत भ्रमण र नेपाल–भारत सम्बन्धबारे प्रकाशित लेखको प्रशंसा गर्दै विकास साझेदारी र सांस्कृतिक सम्बन्धका विषय सकारात्मक भए पनि दुई देशबीचका संवेदनशील र जटिल पक्षलाई नजरअन्दाज गर्न नहुने बताएका छन्।
उनले नेपाल–भारत सम्बन्ध लामो समयदेखि दोहोरिँदै आएको अविश्वास र विवादको चक्रमा अल्झिएको उल्लेख गर्दै लामिछानेको भ्रमणले त्यो दुष्चक्र तोड्न योगदान पुर्याओस् भन्ने शुभकामना व्यक्त गरेका छन्। साथै, काठमाडौं र दिल्ली दुवैतर्फ सुनिएका ‘गड्याङगुडुङ’ का संकेतप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन्।