काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज नयाँदिल्लीमा भारतीय जनता पार्टी (भाजपा)का नेताहरूसँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन्।
भाजपाको निमन्त्रणामा सोमबार नयाँदिल्ली पुगेका लामिछानेलाई विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले स्वागत गरेका थिए। त्यसपछि भाजपा मुख्यालयमा पनि उनको स्वागत कार्यक्रम आयोजना गरिएको थियो।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार भेटवार्तामा दुई दलबीच संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा विचार आदानप्रदान हुनेछ।
भाजपा विदेश विभागले जारी गरेको विज्ञप्तिअनुसार लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले पार्टीका वरिष्ठ नेताहरूसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले भारतमा रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्नेछन्।
जेठ २२ गतेसम्म चल्ने भ्रमणका क्रममा लामिछाने अयोध्या जाने कार्यक्रम पनि रहेको रास्वपाले जनाएको छ। प्रतिनिधिमण्डलमा निकिता पौडेल, सांसद विपिनकुमार आचार्य, सांसद दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।