Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति कांग्रेस सांसद निश्कल राईको कडा आपत्ति, स्पष्ट जवाफ माग

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति कांग्रेस सांसद निश्कल राईको कडा आपत्ति, स्पष्ट जवाफ माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे स्पष्ट र तथ्यसहितको जवाफ दिनुपर्ने माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नेपालले पनि भारतको केही भूभाग मिचेको भन्ने अभिव्यक्तिले आफू मात्र होइन, सम्पूर्ण नेपाली नागरिकको आत्मसम्मानमा चोट पुगेको महसुस भएको बताए।

राईले प्रधानमन्त्रीको भनाइ संसद्को अभिलेखमा दर्ज भइसकेको उल्लेख गर्दै यसले गम्भीर नजिर बसाएको दाबी गरे। उनले सत्तापक्षका सांसदहरूले उक्त अभिव्यक्तिमा ताली बजाएकोप्रति समेत असन्तुष्टि जनाए।

उनले नेपालले भारतको कुन–कुन क्षेत्रमा सीमा मिचेको हो भन्नेबारे एक–एक इन्चको विवरणसहित स्पष्टिकरण दिन प्रधानमन्त्रीलाई चुनौती दिए। साथै, भविष्यमा भारतले सोही अभिव्यक्तिलाई आधार बनाएर कुनै भूभाग फिर्ता मागे के गर्ने भन्ने प्रश्नसमेत उठाए।

सांसद राईले परराष्ट्र मन्त्रालयले यस विषयलाई ‘क्रस बोर्डर’ भनेर व्याख्या गरेकोप्रति पनि आपत्ति जनाउँदै जमिन मिच्ने विषयलाई सामान्यीकरण गर्न नहुने टिप्पणी गरे। उनले प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व र राष्ट्रहितविपरीत भएको आरोप लगाए।