काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकार प्रमुखका अभिव्यक्ति तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर गम्भीर प्रश्न उठाएका हुन्।
शाहीले प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता भए पनि सरकारको नेतृत्व गर्ने व्यक्तिको बोली जिम्मेवार हुनुपर्ने बताए। उनका अनुसार संसद् चिया पसलको गफ गर्ने ठाउँ नभएकाले यहाँ प्रस्तुत गरिने भनाइहरू प्रमाणमा आधारित हुनुपर्छ।
उनले नेपाल–भारत सीमा सम्बन्धी विषयमा सरकारसँग ठोस प्रमाण छ भने संसद्मा प्रस्तुत गर्न आग्रह गर्दै, प्रमाणबिना गरिएका दाबीले जनतालाई भ्रमित गर्ने जोखिम हुने चेतावनी दिए। प्रमाण नभए त्यस्ता अभिव्यक्ति राज्य सञ्चालनको आधार बन्न नसक्ने उनको भनाइ छ।
शाहीले “भावनाले ताली पाउन सकिन्छ तर तथ्यले मात्र विश्वास जित्छ” भन्दै प्रधानमन्त्रीका विवादित भनाइहरूलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने मागसमेत राखे।