Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बिजुलीमा भ्याट कायम, उपभोक्तालाई राहत दिने तयारी : अर्थमन्त्री वाग्ले

बिजुलीमा भ्याट कायम, उपभोक्तालाई राहत दिने तयारी : अर्थमन्त्री वाग्ले

काठमाडौँ । विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयबाट सरकार पछि नहट्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्ट पारेका छन्। यद्यपि, अन्तिम उपभोक्तामाथि अतिरिक्त भार नपर्ने गरी विकल्पहरूबारे छलफल भइरहेको र आगामी साउनदेखि त्यसअनुसार व्यवस्था लागू गरिने उनले बताए।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट-बजेट छलफल कार्यक्रममा बोल्दै वाग्लेले विद्युत् क्षेत्रमा भ्याट लागू गर्ने निर्णय सहज नभए पनि आवश्यक ठानेर अघि बढाइएको बताए। उनका अनुसार, यसअघि पनि विषय उठे तापनि कार्यान्वयनको साहस गरिएको थिएन।

आगामी आर्थिक वर्षको बजेटमा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई करको दायरामा ल्याउने व्यवस्था गरिएको छ, जसको विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ।

अर्थमन्त्री वाग्लेले सबै सेवा निःशुल्क वितरण गर्ने प्रवृत्तिले अर्थतन्त्रमा समस्या निम्त्याउन सक्ने उल्लेख गर्दै सरकार आयभन्दा उपभोगमा आधारित कर प्रणालीतर्फ उन्मुख भएको बताए। साथै, बजेटले आगामी पाँच वर्षका लागि आर्थिक नीतिको दिशा तय गर्ने र अर्थतन्त्र सुधारका लागि क्रमिक रूपमा काम गरिने उनको भनाइ थियो।