Shares
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा दिएको अभिव्यक्तिलाई लिएर ६ जना सीमाविदले खेद व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको जानकारी आफूलाई आएको बताएका थिए ।
तर उनले दिएको अभिव्यक्ति गलत भन्दै सीमाविदहरुले खेद व्यक्त गरेका हुन् ।
एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रधानमन्त्रीको भनाइले आफूहरुलाई आश्चर्यमा पारेको धारणा राखेका छन् ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्राध्यापक डा. पीताम्बर शर्मा, प्राध्यापक डा. नरेन्द्र खनाल, डा. जगत भुसाल, सीमाविद् प्रभाकर शर्मा र डा. द्वारिकानाथ ढुंगेलले विज्ञप्ति जारी गरेका हुन् ।
यस्तो छ उनीहरुले जारी गरेको विज्ञप्ति
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति खेद वक्तव्य
आज प्रतिनिधि सभामा आयोजित प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै सम्माननीय प्रधानमन्त्रीले “नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने अभिव्यक्ति दिनुभएको जानकारी प्राप्त मात्र भएन, उक्त अभिव्यक्ति प्रत्यक्ष रूपमा सुन्न र देख्नसमेत पाइयो। सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीबाट व्यक्त यस्तो धारणाले हामीलाई आश्चर्यचकित बनाएको छ र यसले अनावश्यक भ्रमसमेत सिर्जना गरेको छ।
आजसम्म नेपालले भारतको सीमा मिचेको भन्ने कुरा कुनै आधिकारिक निकायबाट सार्वजनिक रूपमा सुनिएको थिएन। यस्तो अभिव्यक्ति पहिलो पटक देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट नै सुन्न पाइयो। प्रधानमन्त्रीले कुन आधारमा यस्तो धारणा व्यक्त गर्नुभएको हो भन्नेबारे स्पष्ट जानकारी प्राप्त गर्न हामी इच्छुक छौं।
स्मरणीय छ, नेपाल–भारत संयुक्त सीमा आयोगले आफ्नो कार्यको करिब ९८ प्रतिशत हिस्सा सम्पन्न गरिसकेको जानकारी सार्वजनिक भइसकेको छ। तथापि, उक्त आयोग वा अन्य कुनै आधिकारिक निकायबाट नेपालले भारतको सीमा अतिक्रमण गरेको भन्ने निष्कर्ष सार्वजनिक गरिएको छैन। बरु महाकाली नदीको मुहान तथा सुस्ता क्षेत्रसँग सम्बन्धित सीमाविवादका विषयहरू अझै समाधान हुन बाँकी रहेको तथ्य सार्वजनिक रूपमा स्थापित छ।
राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा सीमा सम्बन्धी विषय अत्यन्त संवेदनशील र राष्ट्रिय महत्वका विषय हुन्। यस्ता विषयमा तथ्य र प्रमाणका आधारमा मात्र बोलिनु आवश्यक हुन्छ । .
साथै, प्रधानमन्त्रीलाई नेपाल सरकारले आफ्नो अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सासमेत जारी गरिसकेको तथ्य स्मरण गराउन चाहन्छौं। यस परिस्थितिमा प्रधानमन्त्रीले “भारतले मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने अभिव्यक्ति के–कस्तो तथ्य, प्रमाणका आधारमा दिनुभएको हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ। यस्ता अभिव्यक्तिले तथ्यमा आधारित स्पष्टता प्रदान गर्नुको सट्टा भ्रम सिर्जना गर्ने भएकाले हामी त्यसप्रति गम्भीर खेद व्यक्त गर्दछौं।
साथै, यसबाट आम नेपाली जनतामा उत्पन्न भएको भ्रम निवारणका लागि प्रधानमन्त्रीले सार्वजनिक रूपमा स्पष्टीकरण दिनुका साथै आफ्नो अभिव्यक्तिप्रति क्षमायाचनासमेत गर्नुपर्छ भन्ने हाम्रो धारणा छ।
यसका अतिरिक्त, प्रधानमन्त्रीबाट प्रतिनिधि सभामा व्यक्त उक्त गलत अभिव्यक्तिलाई प्रतिनिधि सभाको अभिलेख (रेकर्ड) बाट हटाउन सम्माननीय सभामुख समक्ष आग्रह गर्दछौं।
नेपाल-भारत सीमा सम्बन्धि अध्येताहरू :
१. सीमाविद् बुद्धिनारायण श्रेष्ठ
२. प्राध्यापक डा. पीताम्बर शर्मा
३. प्राध्यापक डा. नरेन्द्र खनाल
४. डा. जगत भुसाल
५. अन्तर्राष्ट्रिय सीमाविद् प्रभाकर शर्मा
६. डा. द्वारिकानाथ ढुङ्गेल
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209