काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट राज्यको क्षमता अनुसार सन्तुलित रूपमा ल्याइएको स्पष्ट पारेका छन्। बजेटसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले सुरुमा २५ खर्बसम्म पुग्ने अनुमान भए पनि अन्ततः करिब २१ खर्ब हाराहारीमा सीमित गरिएको जानकारी दिए।
उनका अनुसार बजेट प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २८.५ प्रतिशत मात्रै रहेको छ। उनले विगतमा ३० प्रतिशतभन्दा माथि पुगेको बजेट आकारको प्रवृत्तिलाई तोड्दै यसपटक कार्यान्वयनयोग्य सीमा भित्र राखिएको दाबी गरे।
ऋणको अवस्थाबारे टिप्पणी गर्दै वाग्लेले भूकम्प र कोभिड–१९ महामारीपछि सार्वजनिक ऋण उल्लेख्य रूपमा बढेको स्वीकार गरे। उनका अनुसार अहिले आन्तरिक र बाह्य गरी ठूलो परिमाणमा ऋण लिइए पनि त्यो पुराना दायित्व व्यवस्थापनमै प्रयोग भइरहेको छ।
त्यस्तै, उनले तलब वृद्धिबारे फैलिएका आशंकालाई खारेज गर्दै २१ प्रतिशत वृद्धि भएको स्पष्ट पारे। “यो विषयमा कुनै भ्रम छैन,” उनले भने।