Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अल्पविकसित राष्ट्रको सूचीबाट हट्न नेपाल हतारिँदैन : प्रधानमन्त्री शाह

अल्पविकसित राष्ट्रको सूचीबाट हट्न नेपाल हतारिँदैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल तत्काल अल्पविकसित राष्ट्र (LDC) को सूचीबाट बाहिरिने पक्षमा नरहेको बताएका छन्। प्रतिनिधिसभामा उठेको प्रश्नको जवाफ दिँदै उनले सूचीबाट हटेपछि नेपालले पाउँदै आएका आर्थिक तथा व्यापारिक सुविधाहरू गुम्न सक्ने भएकाले सरकारले सावधानीपूर्वक निर्णय लिइरहेको स्पष्ट पारे।

उनले चीनको उदाहरण दिँदै विकासको स्तर उल्लेखनीय रूपमा बढिसकेपछि पनि केही समयसम्म चीन अल्पविकसित राष्ट्रकै सूचीमा रहेको स्मरण गराए। प्रधानमन्त्री शाहका अनुसार नेपालले निर्यात क्षमता बलियो बनाउने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्ने तयारीका लागि थप समय आवश्यक भएकाले राष्ट्रसंघसँग दुई वर्षको समय मागिएको हो।

सुकुम्बासी व्यवस्थापनबारे उठेको प्रश्नमा उनले जोखिमपूर्ण बस्तीमा बसोबास गर्ने नागरिकहरूको सुरक्षा सरकारको प्राथमिकता रहेको बताए। वास्तविक सुकुम्बासीको पहिचान गरी उचित व्यवस्थापन गर्ने प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उनले दशकौँदेखि जटिल बनेको समस्या छोटो समयमा समाधान हुने अपेक्षा नगर्न आग्रह गरे।

“३५ वर्षमा समाधान नभएको विषय ३५ मिनेटमा टुंग्याउन सकिँदैन,” भन्दै प्रधानमन्त्री शाहले दीर्घकालीन समाधानका लागि सरकार काम गरिरहेको बताए।