काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै सामुदायिक विद्यालयको पूर्वाधार सुधार, छात्रवृत्ति विस्तार र उच्च शिक्षामा सुधारलाई प्राथमिकता दिइएको बताएका हुन्।
बजेटअनुसार विद्यालय तहदेखि उच्च शिक्षासम्मका छात्रवृत्ति कार्यक्रमका लागि ८ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ। साथै, गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि एमबिबिएसलगायत चिकित्सा शिक्षा सञ्चालन गरिने भएको छ।
सरकारले अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न सहजीकरण गर्ने, विश्वविद्यालयलाई शैक्षिक तथा वित्तीय स्वायत्तता दिने र वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालयमार्फत अध्ययनको अवसर प्रदान गर्ने नीति पनि अघि सारेको छ।
यसैगरी खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्ने तथा प्रमुख आठ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना सार्वजनिक गरिएको छ।
सरकारले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने तथा प्रतिभावान विद्यार्थीलाई आवासीय सुविधासहित खेल प्रशिक्षण दिने घोषणा पनि गरेको छ।