काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत ९७७ नयाँ दरबन्दी थपिएपछि कुल स्वीकृत दरबन्दी संख्या १८०८ पुगेको छ।
भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयबाट अन्तिम स्वीकृति प्राप्त भएपछि नयाँ संगठन तथा व्यवस्थापन संरचना लागू गरिएको मन्त्रालयले जनाएको छ। यसअघि रहेको ८३१ दरबन्दीमा नयाँ संख्या थपिएको हो।
मन्त्रालयका अनुसार अब लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया अघि बढाइनेछ। विशेषज्ञ चिकित्सकको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको पनि जानकारी दिइएको छ।
साथै, सिएमए, अहेब र अनमीजस्ता प्राविधिक स्वास्थ्यकर्मीका लागि प्रदेश र स्थानीय तहमा पनि छिट्टै थप दरबन्दी खुल्ने मन्त्रालयले जनाएको छ।