Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

‘तेज’ तोरीको तेल गुणस्तरहीन भेटिएपछि बजारबाट फिर्ता गर्न निर्देशन

‘तेज’ तोरीको तेल गुणस्तरहीन भेटिएपछि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौँ । दैनिक भान्सामा प्रयोग हुने ‘तेज’ ब्राण्डको तोरीको तेल गुणस्तरहीन भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागले विशेष गरी “ब्याच नम्बर २०” भएको तेल बिक्री वितरण नगर्न र तत्काल बजारबाट हटाउन आदेश जारी गरेको हो।

बजार अनुगमनका क्रममा संकलन गरिएको नमूना परीक्षण गर्दा तेलले निर्धारित गुणस्तर मापदण्ड पूरा नगरेको विभागले जनाएको छ। ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ अनुसार गरिएको परीक्षणमा न्यून गुणस्तर पुष्टि भएपछि सम्बन्धित उत्पादकलाई कारबाही प्रक्रिया अघि बढाइएको विभागको भनाइ छ।

उक्त तेल रुपन्देहीस्थित सिद्धार्थ आयल इन्डष्ट्रिजले उत्पादन गरेको हो। तेलको उत्पादन मिति २०८२ फागुन २८ रहेको छ भने उपभोग अवधि ६ महिना उल्लेख गरिएको छ।

विज्ञहरूका अनुसार तेलमा एसिड भ्यालु, पेरोक्साइड भ्यालु, गन्ध तथा रासायनिक संरचनाजस्ता पक्ष परीक्षण गरिन्छ। मापदण्डभन्दा बढी खराब रासायनिक मात्रा भेटिएमा त्यस्तो तेल स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ। लामो समय प्रयोग गर्दा पेट, मुटु तथा अन्य स्वास्थ्य समस्या निम्तिन सक्ने चेतावनी पनि विज्ञहरूले दिएका छन्।

पछिल्लो समय बजारमा गुणस्तरहीन खाद्य वस्तु भेटिने क्रम बढ्दो छ। यसअघि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ पनि अखाद्य भेटिएपछि विभागले बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो।