काठमाडौँ । निर्माण सामग्री र इन्धनको मूल्य अस्वाभाविक रूपमा बढेपछि निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले तत्काल न्यायोचित मूल्य समायोजनको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै निर्माण व्यवसायीमाथि आर्थिक र मानसिक दबाब बढेको जनाएको हो।
महासंघका अनुसार निर्माण उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २० लाखभन्दा बढीलाई रोजगारी दिएको छ भने पूँजीगत बजेटको ठूलो हिस्सा यही क्षेत्रमार्फत खर्च हुँदै आएको छ। तर पछिल्लो समय इन्धन र निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण कार्य प्रभावित हुनुका साथै सप्लाई चेनसमेत अवरुद्ध भएको उल्लेख गरिएको छ।
महासंघले मध्यपूर्व युद्धअघि प्रतिलिटर १३९ रुपैयाँ रहेको डिजेलको मूल्य बढेर २२५ रुपैयाँ पुगेको र बिटुमिन प्रतिकेजी ७५ रुपैयाँबाट १५५ रुपैयाँ पुगेको जनाएको छ। यस अवधिमा निर्माण व्यवसायीहरूले १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी व्यहोरेको दाबी पनि महासंघले गरेको छ।