काठमाडौँ । राजधानी काठमाडौँको व्यस्त क्षेत्र बानेश्वरमा फुटपाथ निर्माण तथा मर्मतको नाममा पटक–पटक इटा उखेल्ने र पुनः बिछ्याउने काम भइरहँदा पैदल यात्रुहरू जोखिमपूर्ण अवस्थामा हिँड्न बाध्य भएका छन्।
फुटपाथमा जथाभावी छाडिएका इटा, ब्लक र खुला खाल्डाका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई कठिनाइ भएको छ। निर्माण सामग्री व्यवस्थित नगरी सडक किनारमै छरपस्ट राखिँदा दुर्घटनाको जोखिम थप बढेको छ।
विशेषगरी शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक तथा दृष्टिविहीनहरूका लागि रातको समयमा आवतजावत अझै चुनौतीपूर्ण बनेको स्थानीयहरूले बताएका छन्। निर्माण व्यवस्थापनमा कमजोरीका कारण सुरक्षित पैदल मार्ग नै अवरुद्ध भएको गुनासो बढेको छ।