काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन क्षेत्रसँग सम्बन्धित नीतिगत र पूर्वाधार सुधारका कार्यक्रम कार्यान्वयनमा ढिलाइ हुँदा उद्योग प्रभावित भइरहेको बताएका छन्।
मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पर्यटन क्षेत्र विषयक सार्वजनिक–निजी संवाद कार्यक्रममा बोल्दै उनले पर्यटन प्रवर्द्धन अब परम्परागत प्रचारबाट डिजिटल माध्यमतर्फ केन्द्रित हुँदै गएको स्पष्ट पारे।
जोशीका अनुसार नेपाल अझै ‘ब्याकप्याक डेस्टिनेसन’ को रूपमा चिनिए पनि ६० प्रतिशतभन्दा बढी पर्यटक ट्राभल एजेन्सीमार्फत आउने भएकाले बिटुबी प्लेटफर्म र डिजिटल उपस्थितिलाई बलियो बनाउनुपर्ने आवश्यकता छ।
उनले नेपाल पर्यटन बोर्डले ब्रोसर, पोस्टर र पोस्टकार्डजस्ता छापामाध्यममा हुने खर्च घटाएर डिजिटल प्रवर्द्धनमा लगानी बढाएको जानकारी दिँदै अघिल्लो करिब ३ करोड रुपैयाँको खर्च अहिले ६० लाखमा सीमित गरिएको बताए।
जोशीले खरिद प्रक्रिया, जनशक्ति व्यवस्थापन र विदेशमा प्रचार–प्रसारसम्बन्धी आर्थिक विनियम स्वीकृतिमा ढिलाइ हुँदा अन्तर्राष्ट्रिय प्रचार अभियान प्रभावित भएको उल्लेख गरे। साथै, नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना ढिलो हुँदा युरोपसँग प्रत्यक्ष हवाई सम्पर्क विस्तार हुन नसकेको बताए।
उनले १४ वर्षदेखि युरोपसँग प्रत्यक्ष हवाई कनेक्टिभिटी नहुँदा उच्च मूल्यका पर्यटक बजार गुमिरहेको टिप्पणी गरे। नेपालका ५३–५४ विमानस्थलमध्ये करिब ३० मात्र सञ्चालनमा रहेको उल्लेख गर्दै बाँकीलाई निजी क्षेत्रमार्फत पर्यटन गतिविधिमा उपयोग गर्न सकिने सुझाव पनि दिए।
होटल क्षेत्रमा विद्युत् शुल्क सहुलियत नआउँदा समस्या बढेको र औसत अकुपेन्सी करिब ४० प्रतिशतमा सीमित रहेको उनले बताए। साथै, प्राकृतिक विपद् र अन्तर्राष्ट्रिय घटनाक्रमले लक्ष्यअनुसार पर्यटक आगमन प्रभावित भए पनि ‘नेपाल नाउ’ जस्ता अभियानले सकारात्मक प्रभाव पारेको उनको भनाइ छ।
जोशीले पर्यटन मन्त्रालयअन्तर्गतका निकायहरूको पुनर्संरचना, विपद् व्यवस्थापन संयन्त्र स्थापना तथा अनुसन्धानमा आधारित बजेट प्रणाली आवश्यक रहेकोमा जोड दिए।