काठमाडौँ । कन्सुलर सेवा विभागले सेवा प्रवाहलाई थप सहज, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित ‘मोफा मित्र’ मोबाइल एप औपचारिक रूपमा सार्वजनिक गरेको छ।
मंगलबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल ले एपको शुभारम्भ गर्दै सूचना प्रविधिमार्फत सार्वजनिक सेवा प्रभावकारी बनाउने सरकारको लक्ष्यलाई यस पहलले बल पुग्ने बताए।
मन्त्री खनालले विदेशमा रहेका नेपाली र उनीहरूका परिवारका लागि कन्सुलर सहायता अत्यन्त महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै आपतकालीन अवस्थामा उद्धार, संरक्षण तथा छिटो सूचना प्रवाहमा एप उपयोगी हुने विश्वास व्यक्त गरे। उनले कम्बोडिया, अफ्रिका लगायत विभिन्न मुलुकमा समस्यामा परेका नेपालीलाई सहयोग पुर्याउन एप प्रभावकारी माध्यम बन्ने बताए।
उनका अनुसार ‘मोफा मित्र’ एपमार्फत विदेशमा रहेका नेपाली तथा उनीहरूका आफन्तले अनलाइनबाट निवेदन दर्ता, गुनासो व्यवस्थापन तथा नेपाली नियोगसँग सहज सम्पर्क गर्न सक्नेछन्।
मन्त्री खनालले सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हकहितलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै श्रम आप्रवासनलाई समग्र सरकारी दृष्टिकोणबाट हेर्ने नीति अपनाइएको बताए।